सर्लाही – पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव कायम राख्न सबै नेपालीलाई आग्रह गरेका छन्।
बिहीबार सार्वजनिक गरेको सन्देशमा उनले नेपालको स्थापना कालदेखि नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका नेपालीहरू आपसी मेलमिलाप, सहिष्णुता र भाइचाराका साथ बस्दै आएको उल्लेख गरेका छन्। यही विविधताबीचको एकता र सहअस्तित्वले अन्तर्राष्ट्रिय समुदायमा नेपालको विशिष्ट पहिचान र सम्मान स्थापित गरेको उनको भनाइ छ।

पूर्वराजा ज्ञानेन्द्रले हरेक समुदायले आफ्नो धर्म, संस्कृति, परम्परा र आस्थाको सम्मान गर्दै आएको ऐतिहासिक परम्परालाई निरन्तरता दिनुपर्ने बताएका छन्। नेपालको मौलिकता, राष्ट्रिय पहिचान र गौरवमा कुनै पनि प्रकारको असर पर्न नदिन सबै पक्ष सचेत हुनुपर्नेमा उनले जोड दिएका छन्।
केही दिनअघि सुनसरीका विभिन्न गाउँबस्तीमा उत्पन्न आपसी विवादका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले उक्त घटनाको प्रभाव कोशी प्रदेश तथा तराईका अन्य क्षेत्रमा समेत पर्दा जनजीवन प्रभावित भएको उल्लेख गरेका छन्।
नेपाल सामाजिक एकता, सद्भाव र सहअस्तित्वका लागि चिनिने मुलुक भएको बताउँदै उनले समाजमा तनाव र द्वन्द्व निम्त्याउने यस्ता अवाञ्छित गतिविधि नेपाली समाजका मौलिक मूल्य, मान्यता र परम्पराविपरीत रहेको बताएका छन्।
सन्देशको अन्त्यमा पूर्वराजा ज्ञानेन्द्रले देशका सबै भूभागमा बसोबास गर्ने नेपालीलाई एकता, सहिष्णुता र भाइचाराको भावना बलियो बनाइराख्न आग्रह गरेका छन्। वर्तमान परिस्थितिमा आपसी समझदारी र सहकार्यका साथ सबै नेपाली एकजुट भएर अघि बढ्नु आवश्यक रहेको उनको भनाइ छ।





