सर्लाही – महोत्तरीको बर्दिवासमा सडक पार गर्दै गरेको निलगाईसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन्।
आइतबार बर्दिवास नगरपालिका – ३ काँरेभोगटेस्थित बीपी राजमार्गमा भएको दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका–१ निवासी ३२ वर्षीय विनयकुमार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रहरीका अनुसार बर्दिवासबाट भिमानतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००७ प १९०९ नम्बरको मोटरसाइकल सडक काट्दै गरेको निलगाईसँग ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक साह गम्भीर घाइते भएका थिए।
घाइते साहलाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार धनुषाको हंसपुर नगरपालिका–३ निवासी ४० वर्षीय रविन्द्र साह पनि घाइते भएका छन्।
उनको दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ। हाल उनको उपचार जारी रहेको र स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ। मोटरसाइकलको ठक्करबाट निलगाईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।





