सर्लाहीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

२०८३ श्रावण १८, सोमबार ०८:५१
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।

जिल्लाको हरिवन नगरपालिका – ४, गणेशचोकस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान ट्रकले ठक्कर दिँदा हरिपुर नगरपालिका – ५, लक्ष्मीपुर निवासी करिब ५० वर्षीय पञ्चलाल चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार चौधरी हरिपुरबाट हरिवनतर्फ कामको सिलसिलामा साइकलमा आउँदै थिए। सोही दिशाबाट आएको मधेश प्रदेश ०३–००२ ख ११९४ नम्बरको ट्रकले उनलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनापछि ट्रक पश्चिमतर्फ फरार भएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। ट्रकको नम्बर पहिचान भएपछि इलाका प्रहरी कार्यालय कर्मैयालाई जानकारी गराइएको थियो।

त्यसपछि कर्मैया प्रहरीले ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा बारा जिल्लाको कोल्हबी नगरपालिका – १६ निवासी २५ वर्षीय नरबहादुर श्रेष्ठ रहेका छन्। चालक र ट्रकलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हरिवनमा ल्याइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको साइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलको आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतक चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार