मलंगवा – सर्लाहीको रामनगर गाउँपालिका – १ खैर्वा बजारस्थित बर्थिङ सेन्टरको नवनिर्मित भवन उद्घाटन गरिएको छ। सोमबार वडाध्यक्ष ब्रह्मदेव चौधरीले एक कार्यक्रमबीच उक्त भवनको उद्घाटन गर्नुभएको हो।
लामो समयदेखि अधुरो अवस्थामा रहेको बर्थिङ सेन्टर भवनलाई मधेश प्रदेश सरकारको सहयोगमा आवश्यक पूर्वाधार थप गरी सञ्चालनयोग्य बनाइएको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो।

प्रदेश सरकारको १६ लाख रुपैयाँ लागतमा भवनको बाँकी पर्खाल निर्माण, प्लास्टर, झ्याल ढोका जडान, टायल्स बिछ्याउने, छाना निर्माण तथा रङरोगन लगायतका काम सम्पन्न गरिएको उहाँले बताउनुभयो।
नयाँ भवन निर्माणसँगै स्थानीय बासिन्दाले अब सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरेका छन्। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि विशेषगरी गर्भवती महिला तथा सुत्केरी सेवाग्राहीलाई टाढाका स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।





