देवानगञ्ज गोलीकाण्डमा थप एक जनाको मृत्यु, मृतक संख्या तीन पुग्यो

२०८३ श्रावण १९, मंगलवार १२:४२

सर्लाही – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ। गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो।

प्रहरीका अनुसार १० साउन राति भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। गोली लागेर गम्भीर घाइते भएका रवीन्द्रकुमारको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।

उक्त घटनामा यसअघि देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै दिन मृत्यु भएको थियो। त्यसपछि देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको थियो।

रवीन्द्रकुमारको बायाँ तिघ्रामा गोली लागेको थियो। प्रारम्भिक उपचारका लागि उनलाई विराट नर्सिङ होममा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शुक्रबार थप उपचारका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको बायाँ खुट्टा काटिएको भए पनि स्वास्थ्य अवस्था सुधार हुन नसक्दा मृत्यु भएको जनाइएको छ।

घटनामा गोली लागेर घाइते भएका अन्य व्यक्तिहरूको विभिन्न अस्पतालमा उपचार जारी छ। देवानगञ्ज–३ का १८ वर्षीय अमित यादवको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको हात र कोखमा गोली लागेको थियो। उनलाई नोबेल शिक्षण अस्पतालबाट नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं लगिएको थियो।

त्यस्तै, देवानगञ्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र देवानगञ्ज–३ का १८ वर्षीय अमलेश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। मिथिलेशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो। शल्यक्रिया गरी उनको शरीरबाट गोली निकालिएको अस्पताल स्रोतले जनाएको छ।

हरेरामको तिघ्राको माथिल्लो भागमा र अमलेशको बायाँ पिठ्युँमा गोली लागेको छ। उनीहरू दुवैको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले निगरानी गरिरहेका छन्।

यसैगरी, देवानगञ्ज–३ का २५ वर्षीय सुनील मेहता तथा देवानगञ्ज–४ का १८ वर्षीय अमितकुमार यादव र २६ वर्षीय सुनील मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ। अमितकुमारको कम्मरमा, २६ वर्षीय सुनीलको बायाँ हातको कुहिनामा र २५ वर्षीय सुनीलको खुट्टामा गोली लागेको जनाइएको छ।

घटनामा घाइते भएका अधिकांशको अवस्था गम्भीर रहेकाले उनीहरूको उपचारलाई निरन्तरता दिइएको छ। यसअघि सरकारसँग भएको सातबुँदे सहमतिपछि मृतक ओमप्रकाश र जयप्रकाशको शव गोली लागेको स्थानमै अन्त्येष्टि गरिएको थियो।

देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा पनि प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार