संवेदनशील गतिविधि रोक्न सर्लाहीमा सर्वपक्षीय सहमति

२०८३ श्रावण १९, मंगलवार १९:२२

मलंगवा – देशका विभिन्न स्थानसँगै सर्लाही जिल्लामा पछिल्लो समय देखिएका अनपेक्षित, असहज तथा संवेदनशील घटनाक्रमको समीक्षा गर्दै जिल्लामा शान्ति, सामाजिक सद्भाव र आपसी भाइचारा कायम राख्न सर्वपक्षीय समन्वय बैठक सम्पन्न भएको छ।

जिल्ला सुरक्षा समिति सर्लाहीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको अध्यक्षतामा आज ( मंगलबार ) आयोजित बैठकले आगामी दिनमा यस्ता प्रकृतिका घटना हुन नदिन आवश्यक रणनीति निर्माण गर्दै २३ बुँदे निर्णय गरेको छ।

बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षले खेल्नुपर्ने भूमिकाबारे छलफल गरिएको थियो। पछिल्लो समय देखिएका घटनाक्रमका कारण उत्पन्न हुन सक्ने असहज परिस्थितिलाई सामान्य बनाउन विभिन्न निकाय तथा सरोकारवालाले निर्वाह गरेको भूमिकाको समेत समीक्षा गरिएको जनाइएको छ।

छलफलका क्रममा जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी भाइचारा कायम राख्न सबै पक्षबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो। साथै, कुनै पनि किसिमका भड्काउ गतिविधि, अफवाह वा सामाजिक तनाव बढाउन सक्ने घटनाप्रति समयमै सचेत हुँदै आवश्यक कदम चाल्ने विषयमा समेत सहमति भएको बताइएको छ।

बैठकले आगामी दिनमा सर्लाहीमा यस्ता प्रकृतिका गतिविधि दोहोरिन नदिने उद्देश्यका साथ २३ बुँदे निर्णय गरेको छ। निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षले आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

समन्वय बैठकमा जिल्लाको शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग तथा सहकार्य गर्ने सम्पूर्ण सरोकारवालाप्रति धन्यवादसमेत व्यक्त गरिएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार