सर्लाही – सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने र घाइतेहरूको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदर्शनबाट प्रभावित मृतकका परिवार तथा घाइतेलाई आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो।

बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा पर्वतका प्रा. डा. खड्गबहादुर केसीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, आयोगको सचिवमा भोजपुरकी प्राध्यापक डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद्ले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ लाई स्वीकृति प्रदान गरेको छ। साथै, नेपाल इन्टरमोडेल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्ने निर्णय गरिएको छ।
हाल सञ्चालनमा रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्ने निर्णयसमेत बैठकले गरेको छ।
त्यसैगरी, पशुवधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर कार्यान्वयन गर्ने निर्णय भएको छ। बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।





