भारतमा पाँच किलो भन्दाबढी गाँजासहित सर्लाहीका दुई जना पक्राउ

२०८३ श्रावण २२, शुक्रबार १२:४९

मलंगवा – भारतमा पाँच किलो भन्दाबढी गाँजासहित सर्लाहीका दुई जना पक्राउ परेका छन्। नेपाल–भारत सीमावर्ती क्षेत्रमा भारतीय प्रहरीले चेकजाँचका क्रममा पाँच किलोभन्दा बढी गाँजासहित सर्लाहीका दुई जनालाई पक्राउ गरेको हो।

भारतीय राज्य बिहारको सीतामढी जिल्लाअन्तर्गत परिहार प्रहरी थानाको कोइरिया पिपरा पञ्चायत क्षेत्रमा गरिएको कारबाहीमा सर्लाहीको हरिवन नगरपालिका निवासी राकेश साह र बिपेश पासवान पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट करिब ५ किलो २५० ग्राम गाँजा बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू अन्तरदेशीय लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

बरामद गाँजा र पक्राउ परेका दुवै जनाविरुद्ध परिहार प्रहरी थानामा लागूऔषध नियन्त्रणसम्बन्धी कानुनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। आवश्यक अनुसन्धानपछि उनीहरूलाई न्यायिक हिरासतमा पठाइएको भारतीय प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। भारत–नेपाल सीमा क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार रोक्न सुरक्षा निगरानी थप कडा बनाइएकाले यस्ता कारबाही निरन्तर भइरहेको भारतीय सुरक्षा अधिकारीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार