सर्लाही – सिराहामा प्रहरीले ९१ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका – ४, जमुवाटोलका ४३ वर्षीय मोहन साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शुक्रबार राति इलाका प्रहरी कार्यालय सिराहा र महेशवारीबाट खटिएको संयुक्त गस्ती टोलीले सखुवानान्कारकट्टी गाउँपालिका–४ स्थित सिमरा बलान खोलाको क्षेत्रमा पाँच जना व्यक्तिलाई शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा फेला पारेको थियो।

प्रहरीलाई देखेपछि उनीहरूले टाउकोमा बोकेका बोरा फालेर भाग्न खोजेका थिए। सो क्रममा प्रहरीले मोहन साहलाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ। फरार भएका व्यक्तिहरूले छाडेको बोरा खानतलासी गर्दा गाँजाजस्तो देखिने पदार्थ फेला परेको थियो। प्रहरीले तौल गर्दा उक्त पदार्थ ९१ किलो रहेको जनाएको छ।
घटनामा संलग्न रहेको आशंकामा भगवानपुर–४ जमुवाटोलका ४३ वर्षीय कलेन्द्र यादव र ब्रम्हदेव यादवसहित पहिचान खुल्न बाँकी अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजीकार्य तीव्र पारिएको छ। पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिराहामा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





