लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका – ७ स्थित तरकारी बजारमा युवकको घाँटीबाटै सुनको सिक्री चोर्न खोज्ने एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार आज ( शनिबार ) बिहान करिब ८ बजे लालबन्दी नगरपालिका – १ बस्ने करिब ५० वर्षीय सरोज जंग राना तरकारी किन्न बजार पुगेका थिए। सोही क्रममा उनको घाँटीमा लगाएको करिब १.५ तोलाको सुनको सिक्री चोर्ने प्रयास भएको हो।

तरकारी किनिरहेका रानाको घाँटीमा रहेको सुनको सिक्रीलाई कपडाले छोपेर निकाल्ने प्रयास गरिरहेको अवस्थामा पर्साको वीरगञ्ज महानगरपालिका – २२ चण्डालचोक बस्ने गौरीशंकर राउतका करिब २० वर्षीय छोरा बैधनाथ प्रसाद राउतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) संजय यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले राउतलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लालबन्दीमा ल्याएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





