बारामा साउन्ड सिस्टम जोड्ने क्रममा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

२०८३ श्रावण २५, सोमबार १९:२०
सांकेतिक तस्बिर

सर्लाही – बाराको फेटा गाउँपालिका–७ कुकुरभुक्कामा साउन्ड सिस्टम जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय लक्ष्मी साह तेलीका १८ वर्षीय छोरा गणेश साह तेली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार धार्मिक पूजाका लागि साउन्ड सिस्टमको एम्पलीफायर विद्युत् बोर्डमा जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो। स्थानीय रुप नारायण साह कानुको घरमा शिवगुरुको पूजा आयोजना गरिएको थियो।

पूजामा भजन–कीर्तन बजाउनका लागि स्थानीय महिलाहरूले सामूहिक रूपमा चन्दा संकलन गरी साउन्ड सिस्टम खरिद गरेका थिए। पूजाको तयारीका क्रममा गणेशले एम्पलीफायरको तार विद्युत् बोर्डमा जोड्न खोज्दा अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार