सर्लाही – धनुषामा मिटरब्याज तथा अनुचित लेनदेनको आरोपमा पक्राउ परेका एकै परिवारका तीन जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। अदालतको आदेशपछि जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका ५३ वर्षीय गोपाल साह, उनकी भाइबुहारी ४८ वर्षीया रेखा साह र रेखाका ३२ वर्षीय छोरा हरेराम साहलाई कारागार चलान गरिएको हो।
उनीहरूमाथि परेको अनुचित लेनदेनसम्बन्धी उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालत धनुषाकी न्यायाधीश हिरामाया अवालको इजलासले तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। उनीहरूसहित परिवारका अन्य सदस्यविरुद्ध अनुचित लेनदेन तथा ठगीसम्बन्धी उजुरी परेको थियो।

मिथिला नगरपालिका–६ का कृष्णलाल दास, विदेह नगरपालिका–८ का पूर्व वरिष्ठ प्रहरी उपरीक्षक गोविन्द साह, विदेह नगरपालिका–९ का बहरु राउत अमात्य, मिथिला बिहारी नगरपालिका–८ की शिवशक्ति कुमारी महतो, शहीदनगर नगरपालिका–३ का मोहम्मद काशिम, कमला नगरपालिका–४ की सुलिना खातुन, क्षीरेश्वरनाथ नगरपालिका–४ का युसुफ राईन, क्षीरेश्वरनाथ नगरपालिका–६ का राजीवकुमार दुनुवार र जनकपुरधाम उपमहानगरपालिका–४ की निलम ठाकुरले गोपाल साह, उनका दाइ बलराम साह, रेखा साह र हरेराम साहविरुद्ध उजुरी दिएका थिए।
मिटरब्याजको आरोपमा गोपाल, रेखा र हरेराम पक्राउ परेका छन् भने बलराम साह अझै फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई साउन १ गते नियन्त्रणमा लिइएको थियो। त्यसपछि प्रहरीले साउन २६ गते जिल्ला अदालतमा थुनछेकका लागि उपस्थित गराएको थियो। लामो बहसपछि अदालतले उनीहरूलाई तत्काल कारागारमा राखेर मुद्दाको थप प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।





