८०औँ स्वतन्त्रता दिवस मनाउँदै भारत

२०८३ श्रावण ३०, शनिबार ०८:३५

काठमाडौं – भारतले आज ८०औँ स्वतन्त्रता दिवस मनाउँदैछ । सन् १९४७ अगस्ट १५ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएको अबसरमा भारतले यस वर्षको स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमसहित मनाउन लागेको हो ।

स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले स्वतन्त्रता संग्राममा योगदान दिएका सेनानीहरूको बलिदानको स्मरण गर्दै देशवासीलाई शुभकामना दिएका छन् ।

प्रधानमन्त्री मोदीले शनिबार दिल्लीस्थित ऐतिहासिक लालकिल्लाबाट राष्ट्रिय झण्डा फहराउने र देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम छ । लालकिल्लाबाट मोदीले लगातार १३औँ पटक स्वतन्त्रता दिवसको सम्बोधन गर्न लागेका हुन् ।

यस वर्षको स्वतन्त्रता दिवस समारोहमा राष्ट्रिय गीत ‘वन्दे मातरम्’को १५०औँ वर्षगाँठलाई विशेष महत्व दिइएको छ । समारोहमा पहिलोपटक लालकिल्लाबाट ‘वन्दे मातरम्’ सामूहिक रूपमा प्रस्तुत गरिनेछ । साथै ‘विकसित भारत–२०४७’ निर्माणमा युवाशक्तिको भूमिकालाई समेत प्रमुखताका साथ प्रस्तुत गरिनेछ ।

समारोहमा भारतीय सेना, नौसेना, वायुसेना र दिल्ली प्रहरीका सुरक्षाकर्मीले गार्ड अफ अनर प्रस्तुत गर्नेछन् । झण्डोत्तोलनका क्रममा २१ तोपको सलामी दिइने कार्यक्रम छ ।

समारोहमा सेना, नौसेना र वायुसेनाका करिब २ हजार ५ सय छात्रछात्रा तथा ‘माइ भारत’का स्वयंसेवक सहभागी हुनेछन् । उनीहरूले ज्ञानपथमा बसेर ‘वन्दे मातरम्’ शब्दको आकृति बनाउनेछन् ।

यस अवसरमा विभिन्न क्षेत्रका करिब ५ हजार विशेष अतिथिलाई समेत निमन्त्रणा गरिएको छ । महिला उद्यमी, सरसफाइ कर्मचारी, सडक व्यापारी, युवा नवप्रवर्तक, वैज्ञानिक, स्टार्टअप संस्थापक, कलाकार, किसान, विद्यार्थी तथा सरकारी योजनाका लाभग्राही समारोहमा सहभागी हुनेछन् । – एएनआई, नेपाल न्यूज बैंक

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार