रौतहटमा जमेको पानीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

२०८३ श्रावण ३०, शनिबार २०:५८

सर्लाही – रौतहटको परोहा नगरपालिका–९ खापड टोलमा कलभर्टको पर्खालबाट खसेर जमेको पानीमा डुब्दा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय शेख मेहबुल हककी पाँच वर्षीया छोरी फातमा खातुन रहेकी जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार फातमा शनिबार बिहान बाख्रा चराउन घरबाट बाहिरिएकी थिइन्। बाख्रा चराउने क्रममा कलभर्टको पर्खालबाट तल खाल्टोमा खसेपछि त्यहाँ जमेको पानीमा डुबेकी थिइन्।

बालिका पानीमा डुबेको देखेपछि स्थानीयवासीले तत्काल उद्धार गरी पानीबाट बाहिर निकालेका थिए। घटनाबारे बिहान करिब साढे ९ बजे प्रहरी चौकी रामपुरखापमा जानकारी पुगेको थियो।

सूचना प्राप्त हुनासाथ असई धीरेन्द्रकुमार झाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक विश्वनाथ यादवको नेतृत्वमा थप टोलीसमेत घटनास्थलमा खटाइएको प्रहरीले जनाएको छ।

मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार