सर्लाहीमा लागुऔषधसहित दुई जना पक्राउ

२०८३ भाद्र १, सोमबार ०८:१८
साङ्केतिक तस्बिर

मलंगवा – सर्लाहीको हरिवन नगरपालिका–३ डाबरी क्षेत्रबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लागुऔषधको कारोबार तथा सेवन हुने गरेको सूचनाका आधारमा प्रहरीले आइतबार बिहान ७ बजेदेखि ९ः३० बजेसम्म डाबरी गाउँमा सर्च अपरेसन सञ्चालन गरेको थियो।

प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमको कमाण्डमा ९४ जनाको प्रहरी टोली परिचालन गरी गरिएको अपरेसनका क्रममा दुई जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरीले हरिवन नगरपालिका – ३ डाबरीस्थित एक घरबाट विभिन्न नामका लागुऔषधका १२७ थान ट्याब्लेट बरामद गरेको जनाएको छ।

उक्त घरबाट आधिशर लेखिएको ट्याब्लेट ४ पिस, अस्पाम-१० का ६४ पिस, आईपिएम -१० का ४४ पिस, नाइट्राजेपाम-१० का ५ पिस र इन्टरग्रेटेड लाईफ साईन्सेस लेखिएको ट्याब्लेट १० पिस बरामद भएको प्रहरीले जनाएको छ।

उक्त लागुऔषधसहित सोही स्थानमा बस्ने ४५ वर्षीया रत्ना कुमारी पक्राउ परेकी छन्। त्यस्तै, डाबरीकै भोकटनी टोलमा प्रहरीले घर पछाडि रहेको आँप बगैंचामा लुकाइछिपाई राखेको अवस्थामा लागुऔषध तथा गाँजा बरामद गरेको छ।

प्रहरीले त्यहाँबाट १ किलो ९२३ ग्राम गाँजा, स्पास्मो प्रोक्सीभोनप्लस लेखिएको ८९ क्याप्सुल र एस्पाम-१० लेखिएको ५० थान ट्याब्लेट बरामद गरेको जनाएको छ। सो घटनामा २५ वर्षीय मनोज साह पक्राउ परेका छन्। प्रहरीका अनुसार साह लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा पक्राउ परेका हुन्।

यसअघि पनि सोही क्षेत्रमा खोज तथा सर्च अपरेसन सञ्चालन गरी तीन जना मानिसलाई नियन्त्रणमा लिनुका साथै उल्लेख्य परिमाणमा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार