बिहारको अशोकधाम मन्दिरमा भागदौड, सात जनाको मृत्यु

२०८३ भाद्र १, सोमबार ११:०६
सोमबार बिहारको लखीसरायमा रहेको अशोक धाम मन्दिरमा भएको भागदौडपछि घाइते भएकाहरूको अस्पतालमा उपचार गरिँदै। फोटो – पिटीआई

सर्लाही – भारतको बिहारस्थित लखीसरायको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार बिहान भागदौड हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। घटनामा केही भक्तजन घाइते भएका छन्।

साउन महिनाको सोमबारी व्रतका अवसरमा पूजा तथा दर्शनका लागि मन्दिरमा बिहानैदेखि ठूलो संख्यामा भक्तजन भेला भएका थिए। मन्दिरको मुख्य परिसरमा दर्शन गर्ने भक्तजनको भीड अत्यधिक बढेपछि अचानक भागदौड मच्चिएको बताइएको छ।

घटनालगत्तै प्रहरी तथा प्रशासनको टोली घटनास्थलमा पुगेको थियो। सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य सञ्चालन गरिएको र घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालमा पठाइएको जनाइएको छ।

घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान थालेको छ। एसडीपीओ शिवम कुमारका अनुसार घटनाबारे गहन छानबिन भइरहेको छ। भीड अत्यधिक बढ्नु तथा मन्दिर परिसरमा व्यवस्थापनको अवस्थाबारे समेत अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।

अशोकधाम लखीसरायको प्रमुख धार्मिकस्थलमध्ये एक हो। साउन महिनामा यहाँ विशेषगरी सोमबारका दिन पूजा तथा दर्शनका लागि ठूलो संख्यामा श्रद्धालु पुग्ने गरेका छन्। यही क्रममा सोमबार बिहान भएको दुर्घटनाले ठूलो जनधनको क्षति भएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार