सर्लाही – सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृतसहित दुईजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज एमएस पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि सेवाग्राहीको लेखापरीक्षण तथा कर निर्धारणसम्बन्धी काम गरी कर फर्छ्यौट गराइदिने भन्दै उनीहरूले सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिएका थिए।
घुस रकम लिएको अवस्थामा अख्तियारको टोलीले कर अधिकृत पाललाई केही समयअघि नियन्त्रणमा लिएको थियो। घटनामाथि थप अनुसन्धान गर्दा पाल र यादवको मिलेमतोमा सेवाग्राहीसँग घुस रकम लिएको खुलेको आयोगले जनाएको छ।
अनुसन्धानबाट दुवैजनाको संलग्नता पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।





