मलंगवा – सर्लाही प्रहरीले कोडैना गाउँपालिकाबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरीले कोडैना गाउँपालिका – १ लक्ष्मीपुरस्थित बासघारीबाट करिब ३०० किलो गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार राति करिब १०ः१५ बजे स्थानीय बिजन पटेलको टाली र बाँसले बनेको भुस राख्ने घरमा लागूऔषध गाँजा लुकाएर राखिएको सूचना प्राप्त भएको थियो।

सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले उक्त घरमा खानतलासी गर्दा कोठाभित्र १५ बोरा गाँजा फेला पारेको थियो। बरामद गाँजाको तौल करिब ३०० किलो रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाँजा बरामद भए पनि घरधनी बिजन पटेल भने फरार छन्। उनको खोजी कार्य जारी रहेको र बरामद गाँजा कसको हो तथा कहाँबाट ल्याइएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीले लागूऔषधको अवैध भण्डारण तथा कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।





