गोडैता – स्थानीय तहमा बाल संरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले सर्लाहीमा घटना व्यवस्थापन तथा बाल संरक्षण सूचना व्यवस्थापन प्रणालीसम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ।
राष्ट्रिय बाल अधिकार परिषद्को सहजीकरण, बलरा तथा गोडैता नगरपालिकाको समन्वय, सेभ द चिल्ड्रेनको सहयोग तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आरआरपीके), मलंगवाको आयोजनामा भदौ २ गतेदेखि ४ गतेसम्म तालिम सञ्चालन गरिएको हो।

तालिममा २५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागीमध्ये ६ जना महिला र १९ जना पुरुष थिए।
तालिमका क्रममा बालबालिकासँग सम्बन्धित घटनाको पहिचान, अभिलेखीकरण, मूल्याङ्कन, आवश्यक सेवा तथा सहयोगका लागि सम्बन्धित निकायमा सन्दर्भन, अनुगमन र फलोअपलगायत घटना व्यवस्थापनका विभिन्न चरणबारे सहभागीलाई सैद्धान्तिक तथा व्यावहारिक जानकारी दिइएको थियो।
त्यसैगरी, स्थानीय तहमा बाल संरक्षण सूचना व्यवस्थापन प्रणालीको प्रयोग, बाल संरक्षणसम्बन्धी तथ्याङ्कको अभिलेखीकरण, सूचना व्यवस्थापन तथा प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा अभ्यास र छलफल गरिएको थियो।
आयोजकका अनुसार तालिमले बाल संरक्षणसम्बन्धी घटनालाई व्यवस्थित, संवेदनशील र बालमैत्री ढंगले सम्बोधन गर्न स्थानीय तहका पदाधिकारी तथा सामाजिक सेवा कार्यबलको ज्ञान, सीप र क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ।
तालिमबाट प्राप्त ज्ञान र सीपलाई स्थानीय तहमा व्यवहारमा लागू गर्दै बाल संरक्षणसम्बन्धी घटनाको समयमै पहिचान तथा प्रभावकारी व्यवस्थापन गर्ने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका छन्।
साथै, बालबालिकालाई आवश्यक सेवा तथा सहयोग उपलब्ध गराउन सम्बन्धित सेवा प्रदायक निकायबीच समन्वय बढाउने र बाल संरक्षण सूचना व्यवस्थापन प्रणालीको नियमित प्रयोगमार्फत बालबालिकाको अधिकार तथा संरक्षण सुनिश्चित गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
तालिममा गोडैता र बलरा नगरपालिकाका उपप्रमुख, वडाध्यक्ष, वडा सचिव, बालबालिका शाखा प्रमुख, बाल कल्याण अधिकारी, मनोविमर्शकर्ता, घटना संकलनकर्ता, बाल क्लब सञ्जालका प्रतिनिधि, सम्बन्धित सरकारी अधिकारी तथा सेभ द चिल्ड्रेन र आरआरपीकेका प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता रहेको थियो।





