सर्लाही – महोत्तरीको गौशाला नगरपालिका–१ स्थित विश्वकर्मा चोकमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
गौशाला–माइस्थान सडकखण्डमा बाटो काट्ने क्रममा स्थानीय वानटोलका अन्दाजी ५ वर्षीय आदित्य कुमार महतोलाई मोटरसाइकलले ठक्कर दिएको थियो। गौशालाबाट माइस्थानतर्फ जाँदै गरेको ज.७ प.३७८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालकको टाउकोमा गम्भीर चोट लागेको थियो।

दुर्घटनापछि घाइते बालकलाई तत्काल बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको थियो। जनकपुरस्थित न्युरो अस्पतालले समेत थप उपचार आवश्यक रहेको भन्दै उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा रिफर गरेको थियो। मेडिसिटी अस्पतालमा उपचाररत महतोको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको टोलीले गौशाला नगरपालिका–८ बेलगाछीका अन्दाजी ४१ वर्षीय मोटरसाइकल चालक दिलीप कुमार खड्कालाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





