तस्करलाई प्रहरी कार्यालयबाटै ‘सेटिङ’ गरेर छाडेको आरोप, बोदेबरसाइनका सईको जिम्मेवारी खोसियो

२०८३ भाद्र ६, शनिबार ११:१२

सर्लाही – भन्सार छलीका सामानसहित पक्राउ परेका तस्करलाई प्रहरी कार्यालयबाटै छाडेको आरोपमा विवादमा तानिएका इलाका प्रहरी कार्यालय बोदेबरसाइनका प्रमुख सई शिवशंकर शर्माको जिम्मेवारी खोसिएको छ । उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा तानिएको हो ।

घटना गत साउन १८ गतेको हो । बोदेबरसाइन नगरपालिका–५ बाट भारतबाट भन्सार छली गरी ल्याइएको मोबाइल पार्ट्स र मोटरसाइकलका सामानसहित भरिया सुनिल मण्डललाई प्रहरीले स्थानीयको सहयोगमा पक्राउ गरेको थियो । दिउँसो करिब ३ः३० बजे पक्राउ परेका मण्डललाई सामान र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा लगिएको थियो ।

त्यसपछि पक्राउ परेका भरिया छुटाउन मुख्य कारोबारी भनिएका देवकुमार यादव प्रहरी कार्यालय पुगेका थिए । प्रहरी स्रोतका अनुसार सामान छुटाउने प्रयासका क्रममा यादवलाई समेत नियन्त्रणमा लिइएको थियो ।

तर, त्यसपछि घटनाले नयाँ मोड लिएको आरोप छ । पक्राउ, बरामद सामान र घटनास्थलको वास्तविक विवरण लुकाएर प्रहरी कार्यालयबाटै तस्करलाई उन्मुक्ति दिने प्रयास भएको आरोप लाग्यो । घटनासँग सम्बन्धित मुचुल्कासमेत वास्तविक घटनाभन्दा फरक बनाइएको दाबी गरिएको छ ।

प्रहरीले भने घटनालाई अर्कै ढंगले प्रस्तुत गरेको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीले साउन २१ गते जारी गरेको विज्ञप्तिमा साउन १९ गते राति १२ः३० बजे बोदेबरसाइन नगरपालिका–५ स्थित शिवचोकबाट नम्बर प्लेट नभएको रातो हिरो एक्स्ट्रिम १६० सीसी मोटरसाइकल र मोबाइलका सामान बरामद भएको उल्लेख गरेको थियो ।

प्रहरीको विज्ञप्तिअनुसार प्रहरी टोलीलाई देखेपछि तस्करहरू मोटरसाइकल र सामान छाडेर भागेका थिए । तर, यही विवरणमाथि प्रश्न उठेपछि प्रहरीकै भूमिकामाथि अनुसन्धान सुरु भएको थियो ।

वास्तविक घटना र प्रहरीको आधिकारिक विवरणबीच फरक देखिएपछि स्थानीयस्तरमा प्रहरी प्रशासनको चर्को आलोचना भयो । पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिएर पनि कारबाही नगरी छाडिएको विषय सार्वजनिक भएपछि घटनाले थप विवाद निम्त्याएको थियो ।

तस्करलाई प्रहरी कार्यालयबाटै छाडिएको विषयमा मिडियाहरुबाट समाचार प्रकाशित भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले डीएसपी हेमराज घिमिरेको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक छानबिनमा सई शर्माले माथिल्लो निकायमा घटनासम्बन्धी गलत विवरणसहित जाहेरी गरेको तथ्य भेटिएको छ । तर, छानबिन समितिको पूर्ण प्रतिवेदन भने जिल्ला प्रहरी कार्यालय सप्तरीले सार्वजनिक गरिसकेको छैन ।

छानबिनकै बीच सई शर्माको जिम्मेवारी खोसिनुलाई घटनामा उनको भूमिकामाथि गम्भीर प्रश्न उठेको संकेतका रूपमा हेरिएको छ । शर्मालाई जिल्ला तानिएपछि इलाका प्रहरी कार्यालय बोदेबरसाइनको प्रमुखको जिम्मेवारी सई गुप्तबहादुर राउतलाई दिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार