सर्लाही – बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका किशोरको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी कर्मचारी पक्राउ परेका छन्।
किशोरसँग बयान लिने क्रममा बयान कक्षभित्रै खिचिएको उक्त भिडियो केही समययता सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। भिडियोमा किशोरले घटनासम्बन्धी संवेदनशील विवरणहरू बयान गरिरहेको देखिन्छ।

प्रहरीको बयान कक्षबाटै यस्तो भिडियो बाहिरिएपछि प्रहरीको सुरक्षा व्यवस्था र गोपनीयतामाथि प्रश्न उठेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा भिडियो बयान कक्षमै खिचिएको र त्यसमा संलग्न व्यक्तिबाटै बाहिरिएको हुनसक्ने देखिएपछि प्रहरीले भिडियो खिच्ने प्रहरीलाई नियन्त्रणमा लिएको हो।
बारा प्रहरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार भिडियो खिच्ने प्रहरीलाई पक्राउ गरी हिरासतमा राखिएको छ। उनीविरुद्ध फौजदारी कसुरअन्तर्गत कारबाही अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएका छन्। भिडियो खिच्ने तथा सार्वजनिक गर्ने कार्यमा अन्य प्रहरीको समेत संलग्नता रहेनरहेको विषयमा अनुसन्धान भइरहेको छ।





