सर्लाही – आर्थिक मन्दी, लगानीको अभाव र बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाहमा आएको कमीका कारण मधेस प्रदेशमा उद्योग–व्यवसाय बन्द हुने क्रम बढेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै प्रदेशमा उद्योग तथा वाणिज्यतर्फका १ हजार ९३८ व्यवसायको लगत कट्टा भएको छ।
मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आवमा ८२१ वटा उद्योग र वाणिज्यतर्फका १ हजार ११७ वटा व्यवसायको लगत कट्टा गरिएको हो। तर, व्यवसाय बन्द हुने क्रमसँगै नयाँ उद्योग दर्ता हुने क्रम पनि जारी रहेको मन्त्रालयले जनाएको छ। गत आवमा मधेस प्रदेशमा ५ हजार ६८ वटा नयाँ उद्योग दर्ता भएका छन्।

सबैभन्दा धेरै नयाँ उद्योग पर्सामा दर्ता भएका छन्। पर्सामा १ हजार १०१, धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ वटा नयाँ उद्योग दर्ता छन्।
यसैगरी, सोही अवधिमा ७ हजार ५४० वटा उद्योग नवीकरण भएका छन्। वाणिज्यतर्फ गत आर्थिक वर्षमा ६ हजार १२२ वटा प्राइभेट फर्म र १८ वटा साझेदारी फर्म नयाँ दर्ता भएका छन्। यस अवधिमा ११ हजार १४४ वटा वाणिज्य फर्म नवीकरण भएको मन्त्रालयले जनाएको छ।
नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरणलगायतका शीर्षकबाट प्रदेश सरकारले गत आवमा ५ करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व संकलन गरेको छ। मन्त्रालयका अनुसार उद्योग तथा व्यवसाय बन्द हुने क्रम बढ्नुमा विश्वव्यापी आर्थिक तरलता अभाव, बैंक तथा वित्तीय संस्थाबाट पर्याप्त कर्जा प्रवाह नहुनु, पुँजीको अभावलगायतका कारण प्रमुख छन्।
स्थानीय तहबाट समेत उद्योग दर्ता गर्ने व्यवस्था र त्यसतर्फ बढेको आकर्षणले प्रदेश सरकारअन्तर्गत दर्ता भएका केही उद्योगको लगत कट्टा हुने क्रम बढेको छ। नयाँ उद्योग दर्ताको संख्या उल्लेख्य रहे पनि पुराना उद्योग तथा व्यवसाय बन्द हुने क्रम बढ्दै जानुले मधेस प्रदेशमा निजी क्षेत्रको लगानी र व्यावसायिक वातावरणमाथि चुनौती थपिएको देखिएको छ।





