इस्लामाबाद – पाकिस्तानको राजधानी इस्लामाबादस्थित एक अस्पतालको नर्सरीमा आगलागी हुँदा १५ जना नवजात शिशुको मृत्यु भएको छ।
बुधबार बिहान पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पीआईएमएस) अस्पतालको स्त्री रोग वार्डअन्तर्गत रहेको नर्सरीमा आगलागी भएको हो। घटनाका बेला नर्सरीमा १६ जना नवजात शिशु रहेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका अनुसार तीमध्ये एक जना शिशुलाई मात्र सकुशल उद्धार गर्न सकिएको छ भने अन्य १५ जनाको मृत्यु भएको हो।
उद्धार अधिकारीहरूका अनुसार नर्सरीमा जडान गरिएको एसीको कम्प्रेसरमा विस्फोट भएपछि आगलागी सुरु भएको प्रारम्भिक जानकारी छ। कम्प्रेसरमा विस्फोटसँगै आगो तीव्र रूपमा फैलिएको बताइएको छ।
आगलागीको सूचना पाएलगत्तै उद्धार तथा दमकल टोली अस्पताल पुगेको थियो। टोलीले तत्काल उद्धार कार्य अघि बढाउँदै आगोलाई नियन्त्रणमा लिएको अधिकारीहरूले बताएका छन्।





