सर्लाही – प्रहरीले सिरहाबाट ५५ किलो अवैध लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार बिहान करिब साढे ३ बजे नैनपुरबाट मुसहरनियातर्फ जाँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद भएको हो।

प्रहरीले गाँजासहित औरही गाउँपालिका–४ का २८ वर्षीय विक्रम यादवलाई नियन्त्रणमा लिएको जनाएको छ। यादवले तीनवटा बोरामा गाँजा राखेर प्रदेश २–०१–००४ प ८३६४ नम्बरको मोटरसाइकलमार्फत ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रवक्ता रमेशबहादुर पालले बताए।
पक्राउ परेका यादवलाई मोटरसाइकलसहित इलाका प्रहरी कार्यालयमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





