सर्लाही – पछिल्लो एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ जना युवाले ज्यान गुमाएका छन्। सो अवधिमा प्रदेशका आठ जिल्लाबाट एक लाख ७९ हजार ३९ जना रोजगारीका लागि विदेश गएको तथ्यांक सार्वजनिक भएको छ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जनकपुरधाममा आयोजना गरेको समीक्षा कार्यक्रममा वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण मण्डलले वैदेशिक रोजगारीसम्बन्धी उक्त तथ्यांक प्रस्तुत गरेका हुन्।

तथ्यांकअनुसार सबैभन्दा धेरै धनुषाबाट ३८ हजार ५५३ जना वैदेशिक रोजगारीमा गएका छन्। सिरहाबाट ३० हजार २११, महोत्तरीबाट २८ हजार २२९, सर्लाहीबाट २३ हजार २७३, सप्तरीबाट २० हजार ५५९, बाराबाट १५ हजार ५५५, रौतहटबाट १४ हजार ६८२ र पर्साबाट सात हजार ९७७ जना विदेश गएका छन्।
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पनि उल्लेख्य रहेको कार्यक्रममा जानकारी दिइयो। सर्लाहीबाट एक हजार ३८९ महिला विदेश गएको तथ्यांक छ। त्यस्तै बाराबाट एक हजार ८८, महोत्तरीबाट ४४७, धनुषाबाट ४१३, सिरहाबाट ३०४, सप्तरीबाट २६९, रौतहटबाट ५२५ र पर्साबाट ३३८ महिला वैदेशिक रोजगारीमा गएका छन्।
सामी कार्यक्रमअन्तर्गत सञ्चालित आप्रवासी स्रोत केन्द्रबाट सेवा तथा परामर्श लिनेको संख्या ६३ हजार १४० पुगेको छ। यसमध्ये ५७ हजार २२५ पुरुष, पाँच हजार ९१४ महिला र एक जना अन्य लैङ्गिक समूहका व्यक्ति रहेका छन्।
श्रम तथा यातायात मन्त्रालयका शाखा अधिकृत नवीनकुमार शर्माका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीसँग सम्बन्धित ६७५ समस्या समाधान गरिएको छ। सोही क्रममा १५९ जना पीडितलाई पीडकबाट २२ करोड एक लाख ७८ हजार ४०३ रुपैयाँ फिर्ता गराइएको उनले जानकारी दिए।
वैदेशिक रोजगारीमा जान चाहनेलाई आप्रवासी स्रोत केन्द्रमार्फत गन्तव्य मुलुक, रोजगारीको प्रक्रिया, श्रम स्वीकृति, आवश्यक सीप, लागत, बीमा तथा कानुनी अधिकारलगायतका विषयमा सूचना र परामर्श उपलब्ध गराउँदै आएको छ।





