सर्लाही – सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आरोपपत्र दायर हुनेमा कार्यालयकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैटौँ तहका तुलाकान्त चौधरी छन्। अख्तियारका अनुसार बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि त्यसबापतको भुक्तानी दिने क्रममा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख तथा हैरानी दिँदै घुस मागिएको उजुरी परेको थियो।

उजुरीपछि अख्तियारको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले ढकाल र चौधरीलाई सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा उनीहरूकै मिलेमतो र योजनामा १३ वटा डिप बोरिङ तथा मोटर जडानका लागि छुट्टाछुट्टै १३ वटा उपभोक्ता समिति गठन गरिएको खुलेको आयोगले जनाएको छ।
आयोगका अनुसार ती उपभोक्ता समिति वास्तविक प्रक्रियाका लागि नभई कागजमा मात्र गठन गरिएको थियो। समितिले पूरा गर्नुपर्ने आवश्यक प्रक्रिया र कागजातसमेत कर्मचारीहरूले आफैं तयार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
उपभोक्ता समितिको छाप र अध्यक्षको हस्ताक्षरसमेत जुटाएर भुक्तानीको व्यवस्था मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस रकममा बार्गेनिङ गरिएको र अन्ततः ७ लाख ५० हजार रुपैयाँ लिएको अख्तियारको दाबी छ।
आयोगले ढकाल र चौधरीको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अन्तर्गतको कसुर भएको ठहर गरेको छ। अख्तियारले दुवै जनाविरुद्ध ७ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐनबमोजिम कैद तथा बिगो बराबर जरिवानाको सजाय मागदाबी गरेको छ।
आयोगले बुधबार दुवै जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।
यो पनि पढ्नुहोस:
– आठ लाख भन्दा बढी घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ





