सर्लाही – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि महोत्तरीका १० जना सम्पर्कविहीन भएका छन्। रसुवाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत तथा कामको सिलसिलामा त्यहाँ पुगेका उनीहरू बाढी आएपछि परिवारको सम्पर्कमा नआएका हुन्।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार बर्दिबास–३ का सौभाग्य बिष्ट, बर्दिबास–९ की जोया राना मगर, पिपरा–३ का विकास यादव, औरही–३ का सचिनकुमार यादव, गौशाला–९ का विजय थापामगर, लोहारपट्टि–७ का युवराज पाण्डे तथा गौशाला–८ बेलगाछीका शीतल लुङ्गेली, उनकी पत्नी सरिता लुङ्गेली र छोरा साइमन लुङ्गेली सम्पर्कविहीन छन्।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे जानकारी लिन तथा उनीहरूको खोजीका लागि आवश्यक पहल भइरहेको बताउनुभएको छ।
सौभाग्य बिष्टका पिता ध्रुवकुमार बिष्टका अनुसार बुधबार बिहान करिब ८ बजेपछि छोरासँग सम्पर्क हुन सकेको छैन। बाढीका कारण सञ्चार सम्पर्क प्रभावित भएकाले उनीहरूको वास्तविक अवस्था तत्काल यकिन हुन नसकेको जनाइएको छ।
सम्पर्कविहीन सबैको खोजी तथा अवस्थाबारे जानकारी प्राप्त गर्न सम्बन्धित निकायले प्रयास जारी राखेको छ।





