हसियाले आफ्नै घाँटी काट्दा सर्लाहीमा २९ वर्षीय युवक गम्भीर घाइते

२०८३ भाद्र ११, बिहीबार १८:१०

मलंगवा – सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टामा हसियाले आफ्नै घाँटी काट्दा एक युवक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहिबार दिउँसो करिब १ः१० बजे स्थानीय बासुदेव रामका २९ वर्षीय छोरा रोशन रामले घरमा घाँस काट्न राखिएको हसियाले आफ्नै घाँटीमा प्रहार गरेका हुन्।

हसियाको प्रहारबाट उनको घाँटीमा करिब २ इन्च लामो चोट लागेको प्रहरीले जनाएको छ। मानसिक सन्तुलन ठीक नभएका रोशनले पछिल्लो डेढ महिनादेखि औषधि सेवन गर्दै आएको प्रारम्भिक विवरणमा उल्लेख छ। घटनाबारे उनकी बहिनीले थाहा पाएपछि तत्काल उनलाई बरहथवा नगर अस्पताल पुर्‍याइएको थियो।

नगर अस्पतालमा सामान्य उपचारपछि उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि दिउँसो करिब १ः३० बजे वीरगञ्जस्थित नेशनल मेडिकल कलेजतर्फ लगिएको प्रहरीले जनाएको छ। उनको उपचारमा श्रीमती संलग्न रहेको बताइएको छ।

घटनाको जानकारी नगर अस्पताल बरहथवाले इलाका प्रहरी कार्यालय हिरापुरलाई गराएपछि प्रहरी नायब निरीक्षक हेमबहादुर कंवरको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान तथा आवश्यक सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार