मलंगवा – सर्लाहीको बसवरिया गाउँपालिका–६ सहोर्वा टोलस्थित चट्टीबाबा मठको सार्वजनिक पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बसवरिया गाउँपालिका – ६ निवासी रविन्द्र शाहका १४ वर्षीय छोरा रविराज शाह रहेका छन्।
प्रहरीका अनुसार बिहिबार साँझ करिब ५ः१० बजे रविराज पोखरीमा एक्लै नुहाउने क्रममा पानीमा डुबेका थिए। घटनाबारे स्थानीयले इलाका प्रहरी कार्यालय हिरापुर, सर्लाहीलाई जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरी सहायक निरीक्षक हेमबहादुर कुँवरको कमाण्डमा खटिएको टोलीले घटनास्थललाई सुरक्षित राखेको थियो। घटनाको मुचुल्का तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक गोपीकृष्ण सुवेदीको कमाण्डमा सोकोसहितको टोलीसमेत घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





