सर्लाही – मधेश प्रदेश सरकारले अर्थ मन्त्रालयअन्तर्गत प्रशासन सेवा, लेखा समूहका ७६ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ। एउटै कार्यालयमा लामो समयदेखि कार्यरत रही आफ्नो प्रभाव विस्तार गरेका कर्मचारीलाई स्थानान्तरण गर्ने उद्देश्यले सरुवा गरिएको प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले बताएका छन्।
सरुवा हुने कर्मचारीमा २३ जना अधिकृत, ४३ जना लेखापाल र १० जना सहलेखापाल छन्। अधिकृततर्फ सातौँ तहका १८ जना र आठौँ तहका ५ जना रहेका छन्।

अर्थमन्त्री भट्टराईका अनुसार लामो समय एउटै कार्यालयमा बस्दा कतिपय कर्मचारीको प्रभाव बढ्दै गएको र त्यसको असर कार्यालयको नियमित कामकारबाहीमा समेत पर्न थालेपछि सरुवा गरिएको हो।
‘लामो समयदेखि आफ्नो प्रभाव जमाएर एउटै स्थानमा बसिरहने र कार्यालयलाई कब्जा जस्तो बनाएर राख्ने अवस्था देखिएपछि सरुवा गरिएको हो,’ मन्त्री भट्टराईले भने।
सरुवा सूचीअनुसार अधिकृत तहका कर्मचारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, विभिन्न मन्त्रालय, निर्देशनालय तथा जिल्लास्थित कार्यालयमा जिम्मेवारी तोकिएको छ।
त्यसैगरी ४३ जना लेखापाललाई प्रदेशका विभिन्न मन्त्रालय, निर्देशनालय, प्रदेश लेखा इकाई कार्यालय र मातहतका कार्यालयमा खटाइएको छ। धनुषा, महोत्तरी, सिरहा, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लामा कार्यरत लेखापाललाई समेत एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा गरिएको छ।
प्रदेश सरकारले १० जना सहलेखापालको पनि सरुवा गरेको छ। उनीहरूलाई धनुषा, सिरहा, महोत्तरी, बारा र पर्सालगायत जिल्लाका विभिन्न कार्यालयमा पठाइएको छ।
मधेश प्रदेश अर्थ मन्त्रालयले गरेको यो निर्णयसँगै लेखा समूहमा लामो समयदेखि एउटै कार्यालयमा कार्यरत कर्मचारीको जिम्मेवारी फेरबदल भएको छ। सरकारले यसलाई कर्मचारीको प्रभाव न्यूनीकरण गर्दै कार्यालयको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने कदमका रूपमा लिएको छ।





