कांग्रेसबाट निर्वाचित कौडेनाका अध्यक्ष रूपेश कुमारले छाडे पार्टी

२०८३ भाद्र १४, आइतवार २०:०६

मलंगवा – नेपाली कांग्रेसबाट निर्वाचित कौडेना गाउँपालिकाका अध्यक्ष रूपेश कुमार ‘बब्लु’ यादवले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कांग्रेस परित्याग गरेका छन्। यादवले आइतबार कांग्रेस सभापति गगनकुमार थापालाई पत्र पठाउँदै पार्टीको साधारण सदस्यताबाट राजीनामा दिएको जानकारी गराएका हुन्।

विद्यार्थी जीवनदेखि नै कांग्रेससँग जोडिएर विभिन्न जिम्मेवारीमा रहेर पार्टीका लागि काम गरेको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेर कौडेना गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको स्मरण गर्दै उनले त्यसयता स्थानीय तहको नेतृत्व गरिरहेको बताएका छन्।

तर पछिल्लो समय कांग्रेसको राजनीतिक कार्यशैली र बदलिँदो स्वरूपप्रति आफू असन्तुष्ट रहेको संकेत गर्दै यादवले पार्टीमा बसिरहन नसक्ने निष्कर्षमा पुगेको बताएका छन्। उनले आजकै मितिदेखि लागू हुने गरी कांग्रेसको साधारण सदस्यतासमेत परित्याग गरेको जनाउँदै सभापति थापालाई ‘अन्तिम शुभकामना’ दिएका छन्।

पार्टीमा रहँदा प्राप्त सहयोग, सहकार्य र अवसरका लागि कांग्रेस नेतृत्व तथा सहकर्मीहरूप्रति धन्यवाद व्यक्त गर्दै यादवले आफ्नो राजनीतिक यात्राबाट कांग्रेससँगको औपचारिक सम्बन्ध अन्त्य गरेका हुन्। कौडेना गाउँपालिका – २ का स्थायी बासिन्दा यादव २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार