सर्लाहीमा प्रधानाध्यापकमाथि कुटपिट घटना: शिक्षा समन्वय इकाईद्वारा स्थलगत अनुगमन

२०८३ भाद्र १७, बुधबार १७:४१

मलंगवा – सर्लाहीको बलरा नगरपालिका – ४ स्थित श्री रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापक वीरेन्द्र झामाथि भएको कुटपिटको घटनापछि शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले बुधबार विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ।

घटनालाई गम्भीरतापूर्वक लिँदै विद्यालय पुगेको टोलीले उपस्थित विद्यार्थी तथा शिक्षकहरूसँग घटनाबारे जानकारी लिएको थियो। अनुगमनका क्रममा घटनाको पृष्ठभूमि, कारण तथा घटनाका बेला विद्यालयमा देखिएको परिस्थितिबारे तथ्यपरक जानकारी लिने प्रयास गरिएको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका सूचना अधिकारी सुनिल कुशवाहाले धड्कन एफ एमसंग बताए।

उनका अनुसार घटनाको वास्तविकता तथ्य र प्रमाणका आधारमा निष्पक्ष रूपमा छानबिन गरिनुपर्ने देखिएको छ। दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुनुपर्ने उनको भनाइ छ। कुशवाहाका अनुसार घटनाको निष्पक्ष छानबिनका लागि छानबिन समिति गठन भइसकेको छ। समितिले घटनाबारे छानबिन गरी प्रतिवेदन बुझाएपछि सोही प्रतिवेदनका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढ्ने छ।

स्थलगत अनुगमनका क्रममा गत शुक्रबार विद्यालयमा आयोजित सरसफाइ कार्यक्रममा प्रधानाध्यापक झाले एक छात्राप्रति असभ्य ( बोल्ने नहुने ) शब्द प्रयोग गर्दै गालीगलौज गरेको आरोपसम्बन्धी विषयसमेत उठेको थियो। उक्त घटनाप्रति विद्यार्थीहरू असन्तुष्ट बनेको र कानुनी बाटो रोज्नुको सट्टा विद्यार्थीहरू प्रत्यक्ष आक्रमणमा उत्रिएको पाइएको सूचना अधिकारी कुशवाहाले बताए।

सोही विषयलाई लिएर सोमबार दिउँसो विद्यार्थीहरूले विद्यालय परिसरमै प्रधानाध्यापक झामाथि कुटपिट गरेका थिए। घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले मंगलबार एक जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

यसैबीच, घटनाको सत्यतथ्य पत्ता लगाउन बलरा नगरपालिकाकी उपप्रमुख कोशीला देवीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। समितिले घटनाको समग्र पक्षबारे अध्ययन गरी आवश्यक सुझाव तथा प्रतिवेदन दिने बताइएको छ। प्रधानाध्यापकमाथि भएको कुटपिट र त्यसअघि विद्यार्थीमाथि भएको भनिएको दुर्व्यवहार दुवै विषयलाई तथ्य र प्रमाणका आधारमा निष्पक्ष रूपमा हेर्नुपर्ने बताईएको छ।

घटनाका कारण विद्यालयको शैक्षिक वातावरण प्रभावित भएकाले त्यसलाई तत्काल सहज, सुरक्षित र मर्यादित बनाउनुपर्ने आवश्यकता देखिएको छ। बताइएअनुसार घटनापछि मंगलबार विद्यालयमा पठनपाठन हुन सकेन भने बुधबार पनि केही शिक्षकहरूले आफूहरू असुरक्षित महसुस गरिरहेको भन्दै विद्यालयमा उपस्थित भएनन्। शिक्षकहरूको अनुपस्थितिका कारण बुधबारको पठनपाठनसमेत प्रभावित भएको बताइएको छ।

छानबिन समितिको प्रतिवेदनपछि घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कारबाही अघि बढाउने र विद्यालयको शैक्षिक वातावरण सामान्य बनाउने प्रक्रिया अगाडि बढाइने बताइएको छ।

यो पनि पढ्नुहोस:
सर्लाहीमा विद्यार्थीबाटै कुटिए प्रधानाध्यापक: गाडीसमेत तोडफोड, एक जना पक्राउ

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार