धड्कन संवाददाता, लालबन्दी – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोग र पुनर्स्थापनाका लागि सर्लाहीको ईश्वरपुर नगरपालिका – ६ बयलबास बजारमा राहत सामग्री संकलन अभियान सञ्चालन भइरहेको छ। विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको अभियानमा स्थानीय बासिन्दा, व्यवसायी, युवा तथा विभिन्न सामाजिक संघसंस्थाले सक्रिय सहभागिता जनाएका छन्।
ईश्वरपुर नगरपालिका, लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्यान्ड्स र बजार व्यवस्थापन समिति ईश्वरपुरको संयुक्त पहलमा सञ्चालित अभियानअन्तर्गत खाद्यान्न, कपडा, कम्बल, सरसफाइका सामग्री, औषधि तथा अन्य आवश्यक वस्तु संकलन भइरहेको छ। संकलित सामग्री भोटेकोशी बाढीबाट प्रभावित परिवारसम्म पुर्याइने आयोजकले जनाएको छ।

बाढीबाट ठूलो क्षति व्यहोरेका नागरिकको पीडामा मल्हम लगाउन अभियानमा सहभागी हुन आयोजकले सर्वसाधारणसँग अपिल गरेका छन्। उनीहरूका अनुसार विपद्को समयमा गरिने सानो सहयोगले पनि पीडित परिवारलाई ठूलो राहत दिन सक्छ।
यसैबीच, बाढीपीडितको सहयोगार्थ भोलि बिहान ८ बजेदेखि बयलबास बजारमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। ‘रक्तदान जीवनदान’ भन्ने सन्देशसहित आयोजना हुने कार्यक्रममा स्वस्थ नागरिकलाई उत्साहपूर्वक सहभागी हुन आग्रह गरिएको छ।
विपद्का बेला घाइते तथा बिरामीको उपचारका लागि अस्पतालमा रगतको माग बढ्न सक्ने भएकाले समयमै रगतको व्यवस्थापन गर्न रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ। एक व्यक्तिले गरेको रक्तदानले अर्को व्यक्तिको जीवन जोगाउन सक्ने भएकाले रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण माध्यमका रूपमा लिइएको छ।
राहत संकलन तथा रक्तदान अभियानमा स्थानीयवासीसँगै उद्योगी व्यवसायी, युवा, सामाजिक अभियन्ता र विभिन्न संघसंस्थालाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ। ‘मानवता बचाऔँ, सहयोगको हात बढाऔँ, रक्तदान गरौँ–जीवन बचाऔँ’ भन्ने भावनाका साथ अघि बढाइएको अभियानले बाढीपीडितलाई तत्काल आवश्यक सहयोगसँगै मनोबल र आशासमेत प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।





