सर्लाही – जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको नीति, निर्णय र निर्देशनविपरीत गतिविधि गरेको भन्दै कोशी र लुम्बिनी प्रदेशका पाँच जना प्रदेशसभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
ललितपुरको बालकुमारीमा भदौ १६ देखि १८ गतेसम्म बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अनुशासन उल्लंघन गर्ने जनप्रतिनिधिमाथि कारबाही गर्ने निर्णय गरेको हो ।

कारबाहीमा पर्नेमा कोशी प्रदेशकी सांसद निर्मला लिम्बूसहित लुम्बिनी प्रदेशका सांसदहरू सन्तोषकुमार पाण्डेय, हेमा वेल्वासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल रहेका छन् ।
लुम्बिनी प्रदेशका चार सांसदले पार्टीको निर्णयविपरीत प्रदेश सरकारको पक्षमा मतदान गर्नुका साथै सरकारमा सहभागी भएको आरोपमा कारबाही गरिएको जसपाले जनाएको छ ।
यता, कोशी प्रदेशकी सांसद निर्मला लिम्बूमाथि पनि पार्टी निर्देशन उल्लंघन गरेको आरोपमा कारबाही प्रक्रिया अघि बढाइएको छ । जसपाका नेता मनिष सुमनका अनुसार लिम्बूलाई तत्काल स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।
‘निर्मला लिम्बूलाई अहिले स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ सुमनले भने, ‘स्पष्टीकरण चित्तबुझ्दो नआए उहाँलाई पनि हटाइन्छ ।’ पार्टी विभाजनका क्रममा लिम्बू अशोक राई नेतृत्वको समूहमा लागेकी थिइन् ।
केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश सांसदहरूमाथि मात्र नभई गत निर्वाचनका क्रममा पार्टीको नीति, निर्णय र विधानविपरीत गतिविधि गर्ने स्थानीय तहका जनप्रतिनिधि तथा पार्टीका कार्यकर्तामाथि समेत कारबाही गर्ने निर्णय गरेको छ । त्यस्ता करिब दुई दर्जन जनप्रतिनिधि तथा कार्यकर्तालाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरिएको जसपाले जनाएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षता तथा संरक्षक महन्थ ठाकुरको उपस्थितिमा बसेको बैठकले पार्टीभित्र अनुशासनलाई थप कडाइ गर्ने स्पष्ट संकेत दिएको छ । कारबाहीमा परेका प्रदेश सांसदहरूको पद रिक्त गराउने प्रक्रियाका लागि सम्बन्धित प्रदेशसभामा छिट्टै पत्राचार गरिने जसपाले जनाएको छ ।





