सर्लाही – पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको दुधौरा–पिलुवा सडकखण्डमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। आइतबार बैजुरा पुलमा भएको दुर्घटनामा जीतपुरसिमरा उपमहानगरपालिका–१६, पिलुवाका ५२ वर्षीय देवबहादुर चौरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार पिलुवाबाट पथलैयातर्फ जाँदै गरेको प्र२–०३–०२२प ९६४५ नम्बरको मोटरसाइकललाई निजगढतर्फ जाँदै गरेको ना१अ यु १३४ नम्बरको टिपरले ठक्कर दिएको थियो। टिपरको ठक्करबाट गम्भीर घाइते भएका चौरेललाई तत्काल उद्धार गरी वीरगञ्जस्थित बयोधा मेडिसिटी अस्पताल पुर्याइएको थियो।

तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मिनबहादुर घलेका अनुसार दुर्घटनापछि टिपर र चालकलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





