बारामा ठूलो परिमाणमा लागूऔषधसहित १९ वर्षीय युवक पक्राउ

२०८३ भाद्र २४, बुधबार १६:१८

सर्लाही – बारा प्रहरीले ठूलो परिमाणमा लागूऔषध ट्रामाडोल क्याप्सुलसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा १८ हजार ३०० पिस ट्रामाडोल बरामद गरेको हो।

प्रहरीका अनुसार वडा कार्यालय नजिकै राजमार्गमा नियमित चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकी जाँच गरिएको थियो। बसको हुड र्‍याकमा रहेका दुईवटा क्यारी ब्याग शंकास्पद देखिएपछि प्रहरीले चेकजाँच गर्दा ती ब्यागभित्र लागूऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल्स फेला परेको थियो।

लागूऔषध बरामद भएपछि प्रहरीले त्यससँग सम्बन्धित रहेको आरोपमा पर्साको वीरगन्ज महानगरपालिका–१६ निवासी अन्दाजी १९ वर्षीय आनन्द चौरसियालाई नियन्त्रणमा लिएको जनाएको छ।

बरामद लागूऔषधसहित चौरसियालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले लागूऔषध कहाँबाट ल्याइएको र कहाँ लैजान खोजिएको भन्ने विषयमा समेत अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार