सर्लाही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारप्रति कडा असन्तुष्टि जनाउँदै मधेशी जनताको समर्थनमा बनेको सरकार अहिले मधेशीमाथि नै प्रहार गरिरहेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारलाई ‘तासको पत्ता’को संज्ञा दिँदै प्रधानमन्त्री शाहलाई चेतावनीसमेत दिए। उनले मधेशी जनताको समर्थनका कारण सरकार निर्माण भएको दाबी गर्दै अहिले त्यही समुदायलाई प्रताडित गरिएको आरोप लगाए।

सिंहले भने, ‘म राज्यलाई भन्न चाहन्छु, तपाईं मधेशीको बलमा सरकार ठड्याउनु भएको छ। तपाईं तासको पत्ता हो। तपाईंको लागि यही व्यक्ति बोलेको थियो, यो सरकार बनेन भने आत्मदाह गर्छु। आज यही ठाउँबाट भन्न चाहन्छु, तपाईं मधेशीलाई तबाह गर्नुहुन्छ, तपाईंको नाश लेखेको छ।’
उनले सरकार गठन भएदेखि नै मधेशी समुदायमाथि विभेदपूर्ण व्यवहार भइरहेको आरोप लगाए। मन्त्री दीपक शाह र गौरी कुमारीको प्रसंग उठाउँदै उनले उनीहरूमाथि पनि त्यस्तै व्यवहार भएको दाबी गरे।
सांसद सिंहले सरकार संविधानअनुसार सञ्चालन नभएको आरोप लगाउँदै प्रधानमन्त्रीका सल्लाहकारहरूले शासन सञ्चालन गरिरहेको बताए। संसद्प्रति सरकार उत्तरदायी हुनुपर्ने भए पनि संसद्लाई बेवास्ता गर्दै सल्लाहकारको प्रभावमा सरकार चलिरहेको उनको आरोप थियो।
मधेशी समुदायको समर्थनबाट सत्तामा पुगेपछि अहिले त्यही समुदायलाई प्रताडित गरिएको उनको भनाइ थियो। प्रधानमन्त्रीका सल्लाहकारहरूले प्रहरी प्रमुख, सांसद तथा राजनीतिक नेताहरूसमेत अपमानित गर्ने गरेको आरोप सिंहले लगाए।
स्वास्थ्य तथा शिक्षा मन्त्रालयको नियुक्ति प्रक्रियामाथि पनि उनले प्रश्न उठाए। ती मन्त्रालयका मन्त्रीहरूले मधेशी समुदायबाट नियुक्ति नगर्ने जस्तो व्यवहार देखाएको आरोप लगाउँदै सिंहले सरकारी नियुक्तिमा संविधानले सुनिश्चित गरेको समावेशी सिद्धान्तको उल्लंघन भइरहेको दाबी गरे।





