सर्लाही – धनुषाको धनौजी गाउँपालिका–२ स्थित गौरदाहादेखि लखौरीसम्म सडक निर्माणका नाममा काम नगरी सरकारी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार सडक निर्माणसम्बन्धी सूचना सार्वजनिक नगरी कागजी प्रक्रिया पूरा गरेको देखाएर २ लाख ४९ हजार ५०४ रुपैयाँ भुक्तानी गरिएको थियो।

त्यस्तै, सडक निर्माणको काम नै सम्पन्न नभएको अवस्थामा झुट्टा प्राविधिक बिल, नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार पारेर २४ लाख १५ हजार १२० रुपैयाँ भुक्तानी गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
यस प्रकरणमा धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, लेखापाल राधेश्याम राय, खरिदार अरुणकुमार यादव, सिअहेव उमेर साह र तत्कालीन शिक्षा शाखा प्रमुख अनिलकुमार साहुसहित ९ जनालाई प्रतिवादी बनाइएको छ।
आयोगले प्रतिवादीहरूबाट कुल २६ लाख ६४ हजार ६२४ रुपैयाँ बिगो कायम गरेको छ। भ्रष्टाचार निवारण ऐनबमोजिम उक्त बिगो असुलउपरसँगै कैद र जरिवानाको सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।





