ग्यासमा कालोबजारी गरेको आरोपमा सर्लाही जनरल स्टोरका संचालकसहित दुई जना पक्राउ

२०८३ भाद्र २५, बिहीबार २१:११

सर्लाही – भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका – ३ ब्रम्हनगरमा सर्लाही जनरल स्टोर सञ्चालन गर्दै आएका सर्लाही बरहथवा नगरपालिका –०७ घर भएका २५ वर्षीय उमेश साह र भक्तपुर नगरपालिका–२ इटाछेमा सगर ग्यास बिक्री गर्दै आएका ४१ वर्षीय राजेश कर्माचार्य रहेका छन्।

उनीहरूलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार साहले उपभोक्तालाई प्रतिसिलिन्डर २ हजार ८ सय रुपैयाँसम्ममा ग्यास बिक्री गर्ने गरेको सूचना प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो।

सोही सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउपछि प्रहरीले उनीहरूको नियन्त्रणबाट भरिएका ७५ थान हिमाल ग्यास र १४ थान सगर ग्यास सिलिन्डर बरामद गरेको छ।

पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी परिसर भक्तपुरले थप अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार