मलंगवा – सर्लाहीको बलरा नगरपालिका – ४ स्थित श्री रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापक वीरेन्द्र झामाथि भएको कुटपिट घटनाको छानबिन गर्न गठित समितिले आगामी असोज ५ गतेभित्र प्रतिवेदन बुझाउने भएको छ।
घटनापछि विद्यालयको शैक्षिक वातावरण प्रभावित बनेपछि बिहीबार छानबिन समितिका अध्यक्ष कौशल्या देवीको अध्यक्षतामा सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो।

छलफलका क्रममा घटनासँग सम्बन्धित सबै पक्षको धारणा शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सुन्ने तथा घटनाको वास्तविकता तथ्यका आधारमा पत्ता लगाउने विषयमा छलफल भएको थियो। साथै, विद्यालयलाई पुनः नियमित र मर्यादित शैक्षिक वातावरणमा फर्काउने विषयमा समेत सरोकारवालाबीच सहमति भएको छ।
यसैक्रममा, शुक्रबारदेखि विद्यालयमा विद्यार्थीले अनुशासित र शिक्षकले मर्यादित रूपमा प्रस्तुत हुँदै नियमित तथा प्रभावकारी रूपमा पठनपाठन सञ्चालन गर्ने सर्वसहमत निर्णय गरिएको बलरा नगरपालिकाका नगरप्रमुख रामा शंकर प्रसाद कुशवाहाले धड्कन एफ एम बताए।
उनका अनुसार घटनापछि बिद्यालयमा नियमित पठनपाठन हुन् सकेको थिएन, असुरक्षित महसुस भएको भन्दै केहि शिक्षक नआउने गरेको बताएइको छ। अब शुक्रबारदेखि विद्यार्थीले अनुशासित र शिक्षकले मर्यादित रूपमा प्रस्तुत हुँदै नियमित पठनपाठन सञ्चालन गरिने छ।
गत भदौ १५ गते सोमबार विद्यालय परिसरमै प्रधानाध्यापक झामाथि विद्यार्थीहरूले कुटपिट गरेका थिए। घटनापछि विद्यालयको पठनपाठन प्रभावित भएको थियो। घटनाको पृष्ठभूमिमा विद्यालयमा आयोजित सरसफाइ कार्यक्रममा प्रधानाध्यापक झाले एक छात्राप्रति असभ्य शब्द प्रयोग गर्दै गालीगलौज गरेको आरोपसमेत सार्वजनिक भएको थियो।
त्यसपछि बिद्यार्थीहरुले प्रधानाध्यापकमाथि कुटपिटदेखि उनको गाडीमाथि तोडफोड गरेका थिए। घटनापछि प्रहरीले घटनामा संग्लन रहेको भन्दै एक जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका व्यक्ति अभिभावक रहेको पाईएको छ भने अहिले उनीमाथि अनुसन्धान भईरहेको छ।
घटनाको वास्तविकता तथा त्यससँग जोडिएका विषयबारे शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीले समेत घटनाघटेको दुई दिनपछि गत भाद्र १७ गते विद्यालयमा स्थलगत अनुगमन गरी शिक्षक तथा विद्यार्थीसँग जानकारी लिएको थियो।
स्थलगत अनुगमनका क्रममा विद्यालयमा आयोजित सरसफाइ कार्यक्रममा प्रधानाध्यापक झाले एक छात्राप्रति असभ्य ( बोल्ने नहुने ) शब्द प्रयोग गर्दै गालीगलौज गरेको पाईएको बताईएको थियो।
छानबिन समितिले घटनासँग सम्बन्धित सबै पक्षको अध्ययन तथा आवश्यक प्रमाण र जानकारी संकलन गरी असोज ५ गतेभित्र नगर शिक्षा समितिसमक्ष प्रतिवेदन बुझाउने निर्णय गरेको छ।
नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले विद्यालयमा शान्ति, अनुशासन र मर्यादित वातावरण कायम गर्दै नियमित पठनपाठन सञ्चालन गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन्।
उनले विद्यालयको शैक्षिक वातावरण सुधारका लागि विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी तथा सबै सरोकारवालालाई संयमित र सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
यो पनि पढ्नुहोस:
– सर्लाहीमा विद्यार्थीबाटै कुटिए प्रधानाध्यापक: गाडीसमेत तोडफोड, एक जना पक्राउ
– सर्लाहीमा प्रधानाध्यापकमाथि कुटपिट घटना: शिक्षा समन्वय इकाईद्वारा स्थलगत अनुगमन





