महोत्तरीमा १३ दिनदेखि बेपत्ता युवकको शव सेफ्टी ट्याङ्कीमा फेला, चार जना पक्राउ

२०८३ भाद्र २६, शुक्रबार १९:४९

सर्लाही – महोत्तरीको बलवा नगरपालिका – ७ बनौटामा एक युवकको शव सेफ्टी ट्याङ्कीभित्र फेला परेको छ। भंगाहा नगरपालिका–६ का करिब २२ वर्षीय विवेक कुमार सरदारको शव टुक्रा–टुक्रा अवस्थामा सेफ्टी ट्याङ्कीभित्र फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विवेक भदौ १४ गते साँझ जलेश्वर नगरपालिका–९ पिगौनास्थित दिदीको घरबाट मोटरसाइकलमा आफ्नो घरतर्फ हिँडेका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए।

विवेक बेपत्ता भएपछि उनका बुबा अशोक कुमार वातरले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हुलियासहित खोजतलासका लागि निवेदन दिएका थिए। निवेदनपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो।

खोजतलासका क्रममा बलवा नगरपालिका–७ बनौटामा स्थानीय अशोक कुमार ठाकुरको घर पछाडि रहेको सेफ्टी ट्याङ्कीभित्र विवेकको शव फेला परेको हो। शव टुक्रा–टुक्रा अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा बलवा नगरपालिका–७ का करिब ५८ वर्षीय अशोक कुमार ठाकुर, उनकी करिब ५५ वर्षीया श्रीमती रामकली देवी, बुहारी करिब २२ वर्षीया सोनु कुमारी ठाकुर र महोत्तरी गाउँपालिका–५ का करिब ३७ वर्षीय सियाराम शर्मा रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। प्रहरीले युवकको मृत्युको कारण तथा घटनामा संलग्नताको विषयमा अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार