बसको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

२०८३ भाद्र २९, सोमबार २०:३३
सांकेतिक तस्बिर

सर्लाही – मोरङको बूढीगंगा गाउँपालिका – ४ स्थित नेमुवा चोकमा बसको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दार सुदीप खड्काको मृत्यु भएको छ। सोमबार साँझ करिब ५ः३० बजे कोशी लोकमार्गमा वीरगन्जबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ७९१३ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

प्रहरीका अनुसार प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकलमा सवार खड्का पश्चिमबाट पूर्वतर्फ सडक पार गर्ने क्रममा बसको ठक्करमा परेका थिए। दुर्घटनामा बूढीगंगा गाउँपालिका–४ का ३६ वर्षीय खड्काको टाउको, छाती, हातखुट्टा लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।

घाइते खड्कालाई तत्काल उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा साँझ ६ः५२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। खड्का सशस्त्र प्रहरी बल नेपालअन्तर्गत सप्तरीको बीओपी स्वर्णकट्टीमा कार्यरत थिए।

दुर्घटनापछि प्रहरीले बस, मोटरसाइकल र बस चालकलाई नियन्त्रणमा लिएको छ। बस चालक सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकका ४८ वर्षीय राजन दाहाल रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा बस तीव्र गतिमा रहेको र मोटरसाइकल अचानक सडक पार गर्न खोज्दा दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार