मलंगवा – सर्लाही प्रहरीले अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई सजाय तोकिएपछि फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले अदालतबाट दण्ड सजाय तोकिएका तर लामो समयदेखि फरार रहेका प्रतिवादीलाई खोजी गर्ने क्रममा सोमबार पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि सर्लाही जिल्ला अदालतमा दाखिला गरेको जनाएको छ। पक्राउ परेकामध्ये तीन जना घरेलु हिंसासम्बन्धी मुद्दाका प्रतिवादी रहेका छन्।
त्यस्तै, सवारी ज्यान मुद्दाका एक जना र बैंकिङ कसुर मुद्दाका एक जना प्रतिवादीसमेत पक्राउ परेका छन्।





