सर्लाही – वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ का ४५ वर्षीय गंगा बहादुर कटुवाल र सर्लाहीको हरिवन नगरपालिका–२ घर भई काठमाडौं बस्दै आएका ३८ वर्षीय हेम बहादुर बोम्जन रहेका छन्।

प्रहरीका अनुसार कटुवालले जापान पठाइदिने भन्दै एक जना पीडितबाट १ लाख ५० हजार रुपैयाँ लिएका थिए। रकम लिएपछि उनी पीडितको सम्पर्कमा नआएपछि उजुरी परेको थियो।
त्यस्तै, बोम्जनले पनि जापान पठाइदिने प्रलोभन देखाएर एक जना पीडितबाट १ लाख रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको उजुरी परेको प्रहरीले जनाएको छ।
उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले कटुवाललाई काठमाडौं महानगरपालिका–१२ र बोम्जनलाई काठमाडौं महानगरपालिका–२८ बाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।





