महोत्तरीमा १ लाख घुससहित नापी कार्यालयका सर्भेक्षक रंगेहात पक्राउ

२०८३ भाद्र ३१, बुधबार ०७:५४

सर्लाही – महोत्तरीको बर्दीबासमा जग्गा ट्रायलको काम गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको आरोपमा नापी कार्यालयका एक सर्भेक्षक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बर्दीबासस्थित नापी कार्यालयमा कार्यरत सर्भेक्षक शिवकुमार साह रहेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दीबासस्थित टोलीले मंगलबार अपराह्न घुस रकमसहित नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार साहले सेवाग्राहीको जग्गा ट्रायलसम्बन्धी काम गरिदिने भन्दै २ लाख रुपैयाँ घुस मागेका थिए। त्यस क्रममा उक्त रकममध्ये पहिलो किस्ताबापत १ लाख रुपैयाँ मंगलबार दिने सहमति भएको थियो।

सेवाग्राहीसँग घुस मागिएको सूचना पाएपछि अख्तियारको टोलीले साहमाथि निगरानी बढाएको थियो। सोही क्रममा मंगलबार अपराह्न करिब ४ बजे नापी कार्यालय अगाडिको एक खाजा घरमा सेवाग्राहीबाट १ लाख रुपैयाँ बुझ्दै गरेको अवस्थामा साहलाई टोलीले रंगेहात पक्राउ गरेको हो।

अख्तियारको टोलीले साहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार