महोत्तरीमा नगरप्रमुखमाथि हातपात प्रयासको आरोप, तीन जना पक्राउ

२०८३ भाद्र ३१, बुधबार १९:५१

सर्लाही – महोत्तरीको औरही नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार खड्कामाथि कार्यालयमै हातपातको प्रयास भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

नगरप्रमुख खड्काका अनुसार बुधबार बिहान करिब ११ः३० बजे ठूलो संख्यामा आएका व्यक्तिहरू नगरपालिकाको कार्यालय परिसरमा प्रवेश गरी आफूमाथि हातपातको प्रयास गरेका थिए। घटनाका क्रममा जनप्रतिनिधि तथा कर्मचारीमाथि समेत अभद्र व्यवहार र हातपातको प्रयास भएको उनको आरोप छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले औरही नगरपालिका–८ का रामबाबु दास, अजयकुमार साह र राजेशकुमार साहलाई पक्राउ गरेको जनाएको छ।

नगरपालिका कार्यालयभित्रै विवाद र तनावको अवस्था सिर्जना भएपछि घटनामा संलग्न व्यक्तिमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

घटनापछि औरही नगरपालिकाले अत्यावश्यक सेवाबाहेक कार्यालयबाट प्रवाह हुने अन्य सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ। सेवा बन्द भएपछि नियमित प्रशासनिक तथा अन्य कामका लागि नगरपालिका पुगेका सेवाग्राही प्रभावित भएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार