रौतहटमा चोरीको अनुसन्धानका क्रममा लोडेड कटुवा पेस्तोल बरामद

२०८३ आश्विन २, शुक्रबार १४:२८

सर्लाही – रौतहटको गरुडा नगरपालिका–७ भिमडावरमा तीन वटा घरमा चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले लोडेड कटुवा पेस्तोल बरामद गरेको छ।

शुक्रबार बिहान करिब ९ः३० बजे भिमडावरका दयाराम साहको एकतल्ले पक्की घरको पछाडिको ढोकामा लगाइएको आग्लो भाँचेर चोर घरभित्र प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ। घरबाट रेडमी, ओपो र रियलमीका तीन थान मोबाइल चोरी भएका थिए।

त्यसैगरी, सोही स्थानका मनोज साहको एकतल्ले पक्की घरमा छतको ढोकाबाट प्रवेश गरी कोठाको आग्लो साइडबाट निकालेर दराजमा राखिएको पर्सबाट करिब ५ हजार रुपैयाँ नगद चोरी भएको थियो।

यस्तै, रामाज्ञा साहको एकतल्ले पक्की घरको माथिल्लो ढोकाबाट घरभित्र प्रवेश गरी कोठामा रहेको टिनको बाकसभित्र राखिएको पर्सबाट ८ हजार रुपैयाँ नगद र एक थान भिभो मोबाइल चोरी भएको प्रहरीले जनाएको छ।

तीनवटै घरमा चोरी भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो। घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले दयाराम साहको खपडाको छानो भएको भुईँघरको बरण्डामा रहेको खाटमा लुकाइराखिएको अवस्थामा एक थान लोडेड कटुवा पेस्तोल फेला पारेको हो।

प्रहरीका अनुसार उक्त पेस्तोलमा एक थान लाइभ राउण्ड लोड गरिएको अवस्थामा थियो। प्रहरीले पेस्तोल बरामद गरी चोरी तथा हतियार फेला परेको घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार