सर्लाही – सरकारले जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्वको जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णयबाट प्राचीन स्मारक संरक्षण ऐन, २०१३ बमोजिम जानकी मन्दिर आसपासको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरिएको हो।
मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका अनुसार चार किल्ला निर्धारण गरी संरक्षित स्मारक क्षेत्र तोकिएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै संरक्षित क्षेत्रको सीमासमेत सार्वजनिक गरेको हो।

निर्धारित सीमाअनुसार पूर्वतर्फ जनकपुरको भानु चोक, कदम चोक, जिल्ला प्रशासन कार्यालय तथा मालपोत कार्यालय हुँदै दक्षिणतर्फ जाने सडकसम्मको परिक्रमा पथलाई समेटिएको छ। पश्चिमतर्फ भमरपुरा चोक हुँदै याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकुप र हनुमान मन्दिर हुँदै उत्तरतर्फ जाने परिक्रमा पथलाई सीमा निर्धारण गरिएको छ।
त्यसैगरी उत्तरतर्फ हनुमान मन्दिर, पिडारी चोकस्थित राजा जनक स्मारक हुँदै मधेस प्रदेश भवन, मिल्स एरिया र भानु चोकसम्मको परिक्रमा पथको सडकलाई सीमा तोकिएको छ। दक्षिणतर्फ भने जनकपुरधामको मुरली चोकस्थित विद्यापति स्मारक हुँदै भमरापुरा चोकसम्म जाने परिक्रमा पथको सडकलाई संरक्षित क्षेत्रको सीमाभित्र राखिएको छ।
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको लक्ष्यअनुसार संरक्षित स्मारक क्षेत्र घोषणा गरिएको मन्त्रालयले जनाएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियाका लागि सम्बन्धित सम्पदाको संरक्षण र त्यसको आसपासको क्षेत्रको व्यवस्थापन महत्वपूर्ण मानिन्छ।
संरक्षित स्मारक क्षेत्र घोषणा भएसँगै अब उक्त क्षेत्रभित्र भवन निर्माण तथा अन्य भौतिक संरचना निर्माण गर्दा सरकारले तोकेका संरक्षणसम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ। सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषय समावेश गरेको छ।





