मधेशका विकास आयोजना अनुगमन गर्न प्रतिनिधिसभा समितिको उपसमिति गठन

२०८३ आश्विन ६, मंगलवार ११:०३

सर्लाही – मधेश प्रदेशमा सञ्चालनमा रहेका पूर्वाधार विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइसँग सम्बन्धित आयोजना र कार्यक्रमको अनुगमन तथा मूल्यांकन गर्न प्रतिनिधिसभाको पूर्वाधार विकास समितिअन्तर्गत प्रदेशस्तरीय उपसमिति गठन गरिएको छ।

उपसमितिमा सांसद तपेश्वर यादव, डा. मो. फिरदोश आलम, यशोदा कुमारी, राजकिशोर महतो कोइरी र रामाकान्त प्रसाद चौरसिया सदस्य रहेका छन्। उपसमितिले मधेश प्रदेशभित्र समितिको कार्यक्षेत्रमा पर्ने मन्त्रालय, सरकारी निकाय तथा विभिन्न आयोजनाको व्यवस्थापन, कार्यसम्पादन र गतिविधिको अध्ययन तथा मूल्यांकन गर्नेछ।

अनुगमनका क्रममा देखिएका विषयमा आवश्यक टिप्पणी र सिफारिससहित पूर्वाधार विकास समितिमा प्रतिवेदन पेस गरिने सांसद यादवले बताए। त्यस्तै, आयोजनामा सार्वजनिक सम्पत्तिको हिनामिना भए नभएको तथा प्रचलित ऐन, नियम र सम्झौताअनुसार काम भए–नभएको विषयमा समेत उपसमितिले अध्ययन गर्नेछ।

यसक्रममा सम्बन्धित आयोजनाका प्रतिवेदन, करार सम्झौता, लेखा तथा अन्य आवश्यक कागजातको अध्ययन गरिनेछ। साथै, आयोजना स्थलमै पुगेर स्थलगत अनुगमन गर्नुका साथै सम्बन्धित सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरिने उपसमितिले जनाएको छ।

आवश्यकता अनुसार विज्ञ, विशेषज्ञ तथा अनुसन्धानकर्तासँग परामर्श लिएर उपसमितिले आफ्नो प्रतिवेदन तयार गर्नेछ। उपसमितिको कार्यावधि २०८३ साल माघ मसान्तसम्म तोकिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार